पूनम (१. होली, २. म दोषी )

‘रमेश हाम्रो अन्तिम भेट हो यो सायद। तिमीलाई भबिस्यको शुभकामना,’ उनले यत्ति भन्दै कोमल हातले रातो रंग मेरो गालामा दलेकी थिइन्।

एसएलसी परीक्षा नजिकिदैथियो। तर मेरो मन अन्तै डुल्न थाल्यो। उनकै कुराले मन ओगट्दा पढाइमा ध्यान नै दिन सकिनँ। कहिले पनि मसँग नबोल्ने उनी होलीको दिन किन बोलेकी? उनको मुस्कान पनि कस्तो न कस्तो किसिमको थियो, मलाई अति नै लाज लागेको थियो।

बाडुलीले सताएपछि उनलाई होलीको पर्सिपल्ट फोन गरेँ। उनकी आमाले उठाउनुभो।

‘आन्टी पुनम छिन् घरमा?’

‘तिमी को बोलेको बाबु?’

‘म रमेश, पुनमको साथी।’

आन्टीले पछाडि सोध्दै हुनुहुन्थ्यो, ‘तेरो रमेश भन्ने साथी छ?’

उनले भनिन, ‘ह्या ममी, डिस्टर्ब नगर्नुस्। घरमा छैन भन्दिनू!’

फोनमा सबै सुन्दैथिएँ।

आन्टीले ऊ त अहिले छैन, पछि गर्नु भन्नुभो।

मन निकै आत्तियो।

सायद उनले होलीभन्दा अगाडि स्कुलले राखेको एक्स्ट्रा क्लासमा जीवनले मलाई उनको नाम लिएर जिस्काउँदा थाहा पाएकी थिइन् होला। कयौँ दिन मनमा त्यहि कुरा खेलाएर बसेँ। एसएलसी सकिएको दिन उनको हातमा प्रेमपत्र थमाएँ। उनले पढिन् र गहभरि आँसु लिएर एक झापड हानिन्।

मन झसंग भो। झापड भन्दा लाजले मुख रातो भो। ठुलै पाप गरेजस्तो भान भो। घरमा कसैले थाहा पाउला भनेर अलि ढिला नै घर गएँ त्यस दिन।

भनिन्छ समयले गहिरोभन्दा गहिरो चोट पनि निको पार्छ। बिस्तारै बिस्तारै भुल्दै गएँ।

प्लस टु पढ्न काठमाडौँ आएँ।

स्नातकसम्म पुगियो। पुल्चोक क्याम्पसमा पढ़्थेँ भने बसाइँ थियो संखमुल। सेकेन्ड इयर पुगेको बर्षको होलीको दिन साथीहरु मिलेर एउटा प्रोग्राममा गयौँ। मुखभरि रंग नै रंग थियो। रमाइलो गर्दै नाच्दै थिएँ, पछाडिबाट कसैले रमेश भनेर बोलायो। फर्केर हेर्दा चिनेको अनुहार कसैको देखिनँ। कोही मतिर हात हल्लाउँदै थिई। नजिक गएँ। चिनेजस्तो अनुहार थियो। तर पनि ठ्याक्कै ठम्याउन सकिनँ।

‘चिनेनौ मलाई?’ उनले भनिन।

‘नाइँ।’

‘लभ लेटर याद छ?’ उनी मुस्कुराइन्।

लाजले माथि हेर्न गाह्रो भो। उनी त पूनम थिइन्। होली नभाको भए मेरो मुख रंग लाएजस्तै रातो हुन्थ्यो होला।

‘के छ तिम्रो हालखबर? लभसभ त परेको छैन? हा हा,’ उनी जोडले हाँसिन्। उनीसँगैका साथी पनि हाँसे।

‘ठिकै छ। हा हा। छैन। त्यस्तो त, तिमीले नाइँ भन्यौ। अरुलाई हेरिनँ’, म पनि हाँसेँ।

उनी अलि सिरिअस भइन्। मुखाकृति अलि बिगारिन्। र, प्रसङ्ग फेर्दै सोधिन्, के गर्दैछौ त आजकल?

‘पढ्दै छु। पुल्चोकमा सिभिल इन्जिनिएर।’

‘तिमी के गर्छौ?’ मैले सोधेँ।

‘म सिए गर्दैछु। धेरै बर्ष बाँकी छ अझै त। जाऔं न हिन्दै कुरा गरौँ अनि कतै बसेर खाजा पनि खाउँला। धेरै पछि भेटेको,’ उनले आफ्ना साथीहरुलाई त्यही बस्न इसारा गर्दै मलाई भनिन्।

‘हुन्छ। जाऔं न त,’ मैले भनेँ।

मैले मेरो साथीहरुलाई त्यही बस्न भनेर पुनमसँग गएँ।

‘अनि तिम्रो घरमा सबैलाई सन्चै छ नि?’ उनले कुरा सुरु गरिन्।

‘अँ। सबैलाई ठिकै छ। तिम्रो घरमा नि? घर त त्यही दसैंमा त होला नि जाने?’

‘अँ। सब ठिक छ। अस्ति मंसिरमा गाकी थिएँ।’

मेरो मनमा एउटा कुराले सधैँ पिरोल्थ्यो। त्यो एसएलसीको बेला दिएको लभ लेटर।

‘पुनम, सरी है।’

‘किन? केको लागि?’ उनले सोधिन्।

‘होइन त्यो लभ लेटरले कस्तो गिल्टी फिल हुन्थ्यो के। त्यहि भएर!’

उनी हाँसिन्।

मन हलुका भएजस्तो लाग्यो। लोलाभित्रको चाप एक्कासि हराएजस्तो मन चंगा भो।

‘रमेश तिमी अझै पनि त्यही कुरा लिएर बसेका छौ? त्यो बेला न तिमीमा समझ थियो न नै ममा। हामी त होलीको रंगजस्तै थियौँ, जतिसुकै दाग लागे नि यसले दिने खुसी बेग्लै छ। हो कि होइन?’

‘साँच्चै भन्दा त्यो दिन तिमीले मलाई एकान्तमा त्यो लेटर दिएको भए सायद म अक्सेप्ट गर्थेँ होला। सबैको अगाडि दिँदा मलाई कस्तो एम्ब्यारस्मेन्ट फिल भा’थ्यो, तिमीलाई के थाहा।’ उनी फेरि जोडले हाँसिन्।

‘अनि मैले होलीको पर्सिपल्ट तिम्रो घरमा फोन गरेको बेला तिमीले किन छैन भन्दिनू भनेको त?’

‘हा हा हा, ममी र मेरो झगडा भा’कोथ्यो के त्यो दिन,’ उनी हाँस्दैथिइन्।

बल्ल मन शान्त भो। मनमनै गद्गद् भएँ।

मैले हातबाट रंग निकालेर पुनमको गालामा लाएँ। उनले नि लाइन्। उनी हाँसिन्। हामी दुबै हास्यौँ।

त्यसपछि एउटा पसलमा चिया नास्ता खाएपछि उनी ल जानुपर्यो भन्दै आफ्नो बाटो लागिन् र म आफ्नो बाटो लागेँ।


***************************************************

फेसबुकमात्र के खोल्न भ्याको थिएँ एउटा नोटिफिकेसन आयो-पुनम ह्याज बर्थडे टुडे’ भनेर आयो। त्यसपछि मैले उनको फेसबुकको टाइमलाइनमा गएर ‘हाय्प्पी बर्थडे पुनम’ भनेर लेखें।

होलीको  दिन  पुनमलाई भेटेर जति खुशी लागेको थियो त्यति नै विगतले घचघच्याउँदै थियो। अझै पनि कुनै कुनामा पुनमलाई मैले सजाएर राखेको थिए। बस पुज्न मात्र छाडेको थिए। र त्यो दिन उसलाई सजाएर राखेको मेरो हृदयको कुनै कुना, आफ्नो स्पन्दनद्वारा मलाई, फेरि त्यो मन मन्दिर सफा गरी उसलाई पुज्न भनिरहेको थियो। पुज्नु के का लागि। उसको र मेरो सम्बन्ध के हो र।

यस्तै-यस्तै अनेक ज्वारभाटाहरू मनमा हलचल मचाइरहेका थिए। म निस्सासिदै थिए आफ्नै मनभित्र विचारको अन्तरद्वन्द्वले मलाई निद्रा नै लागेन। रातको १२ बजिसकेको रहेछ। मैले मोबाइलमा फेसबुक खोलेर फेरि पुनमको फोटो हेरे। मन एक किसिमको आनन्दले गदगद भो। मेरी पुनम, सायद मैले ‘मेरी’ भन्ने कुनै पनि अधिकार राखेको  छैन तर पनि! वसन्तको पालुवा जस्तो हसिलो र रसिलो मुस्कान थियो उनको। उनी त बर्सात थिइन् अनन्त आकाश  र धर्तीको आत्मा जोड्ने। र मैले उनलाई  मसँग जोड्न सकिनँ

‘भोलि त पुनमलाई कल गर्छु एकचोटी, अनि भेट्न भन्नु पर्ला’, मैले अठोट गरे। र यस्तै अनेक कुरा सोच्दा सोच्दै सुतेछु।

भोलिपल्ट मैले बिहानै उसलाई कल गरे। ‘ हेलो पुनम ‘

‘हजुर भन्नुस ‘, पुनमले मलाई चिनिन।

‘ह्याप्पी बर्थ डे’

‘थ्याङ्क यु, तर मैले त हजुरलाई चिनिन नि।’, उसले भनि।

‘अब साथीलाई बिर्सेपछि कसरी चिन्नुहुन्छ त!’

‘रमेश हो तिमी?’ उसले चिनिछ।

‘तिमी पनि कत्ति चाँडो बिर्सिने है, गज्जबको साथी रहेछ्यौ है।’ म हाँसे।

‘हैन रमेश, त्यस्तो नभन न, अनि के छ त तिम्रो हालखबर?’ उ निकै गम्भीर थिइ सायद। हाँसोको सानो खित्का पनि सुनिन मैले।

‘ठीक छ, अनि तिम्रो  के छ नि हालखबर?’ मैले सोधे।

‘राम्रै छ, कलेज एक दुई दिन ब्रेक छ, त्यस्तै त हो, अलि अलि तनाव छ।’, उसमा कुनै उत्साह नै थिएन।

‘ ए, सुन न, आज तिम्रो फुर्सद छ?’

‘अँ…. फुर्सद नै छ, किन र?’ उसले भनि।

‘त्यसो भए भेटौं न त।’ मन ढुकढुक हुँदै थियो।

‘ अँ… खै के भन्नु , अनि कति बेला भेट्ने हो र?’, उसले केटीभित्र हुने फुस्रो भाउ पोखी जस्तो लग्यो।

त्यसपछि उसलाई दिउँसोतिर मैले बानेश्वर बोलाएँ। उसले पनि हुन्छ भनि।

आज त पुनमलाई सबै कुरा भन्छु। मैले दिएको प्रेम पत्र अन्जानमा दिएको थिएन। म उसलाई साँच्चै नै मन पराउँथें। तर पनि मनमा डरले बास गरिसकेको थियो। कतै मैले भन्ने कुराले पुनम रिसाए भने ऊ मेरो साथी पनि नबन्न सक्छे। अनेक कुराले मनमा छटपटी भै’राको थियो। भेट्न जान्छु भनि बाहिर निस्के। पानी पर्ने जस्तो भएको रहेछ। पुरै आकाश बादलले ढाकेको थियो। अली अँध्यारो जस्तो भयो। म छाता लिन फेरि कोठामा फर्के। अनि हतार हतार बानेश्वर पुगे।

मैले फोन गरेर पुनमलाई एउटा रेस्टुरेन्टमा बोलाएँ। करिब आधा घण्टापछि ऊ आइ। ‘आराम छौं ‘ म मुस्कुराए। पुनमको मुहारमा एक किसिमको पीडा थियो। मलाई मेरो कुरा राख्न अति नै डर लागिरहेको थियो। पुनमले अरू केही नसोधी किन बोलाएको भनेर सोधी। मलाई झन् गाह्रो भो।

‘यत्ति टाइमपछि भेट भा‘छ। विस्तारै कुरा गरौला नि। के लिन्छौं?’ म उसलाई केही सजिलो होस् भनेर वातावरण मिलाउन खोज्दैथ्यें।

‘होइन, मलाई त्यस्तो केही खान मन छैन, कर गर्छौ भने फिक्का चिया भन।’ म होलीमा भेटेको पुनमको अझै प्रतिक्षा गर्दै थिए, मेरो अगाडि कि पुनममा मैले त्यो छायाँ कतै पाइन्। मैले दुई कप चिया मगाए। बाहिर अझै पनि बादल नै लागेको थियो । झ्यालबाट बाहिर नियालिरहेको मलाई पुनमले आफै सोधी,’केही विशेष काम थियो कि?’

‘साथीलाई भेट्न पनि काम पर्नु पर्छ र?’ उसलाई अलि दिक्क लागिरहेको थियो। कारण के थियो बुझिनँ तर पक्कै पनि ऊ  पहिला कि जस्ती  पुनम थिइनँ। नत उसको मुस्कानमा वसन्तको पालुवाको उत्साह थियो न त नै ऊ कुनै बर्सा थिइ,  धर्ती र आकाशको मिलन कि। ऊ सुकेको फूल जस्ती भा’की थिइ। आज औँसीको दिन भो मेरा लागि मैले आफ्नो पुनम देखिनँ।

तर पनि भए भरको हिम्मत जुटाएर मैले आफ्नो मनको कुरा खोले। ‘पुनम म अझै पनि तिमीलाई मन पराउँछु।’ मैले एकै सासमा भने। पुनमले लिन लागेको चियाको चुस्की त्यतिकै छोडी कप जोरले टेबुल राखी। उसका आँखाबाट आँशु झर्न थाले। उसका हातहरु काप्न थाले। मानौं मैले कुनै ठूलो बाँध नै भत्काएको जस्तो लाग्यो मलाई। ऊ रुन थाली। मेरा पनि खुट्टाहरू काप्न थाले, मुख सुक्यो, एकाएक बिरामी भए जस्तो लग्यो। नजिक भएका मानिसहरू हामीलाई नै हेर्दै थिए। ऊ केही पनि बोलिन मात्र रुदै थिइ। म झ्यालबाट बाहिर हेर्दै थिए। पानी पर्न थालेको रहेछ। रेस्टुरेन्टको बाहिर पट्टि राखेको गमलामा पानीको थोपाहरु टप्प टप्प चुहिदैं थिए। लाग्दैथ्यो ती प्रत्येक थोपा उसका आँसु हुन जो उसभित्र रहेका पीडाहरूको मलहम रूपी सिंचन गरिरहेका थिए। एकछिन पछि बोल्ने हिम्मत जुटाएर मैले पुनमलाई फेरि भने,’हो म तिमीलाई मन पराउँछु तर तिमीलाई  कुनै किसिमको चोट पर्छ अथवा तिम्रो जिन्दगीमा कोही अरू छ भने  भन, हामी कम से कम असल मित्र त बन्न सक्छौं नि?’ पुनम केही पनि बोलिनन्।

’हेर, पुनम तिमी र म साथी हौं। मैले गर्दा तिमीलाई कुनै चोट पुग्यो भने हृदयदेखि नै माफी माग्छु तर प्लिज के भयो तिमीलाई भन। किन यसरी रोएको?’ म आफै आत्तिसकेको थिए।पुनम, मात्र आँखाबाट आँशु खासालिरही, केही बोलिनँ। मलाई अर्कै किसिमको पीडाको महसुस हुँदै थियो। सायद म पुनमलाई पाउन सक्दिन भनेर होला त्यस्तो महसुस भएको कि त उसको पीडा हुनुपर्छ जुन म पनि अनुभव गर्दै थिए। उनी रोइ रही, केवल आँशु झरिरहेकी थिइ। केही समय हामी मौन रह्यौ।

पानी अलि रोकिएको जस्तो भो। तर पनि बादल अझै थियो। ढलको भेलले बाटो नै हिलाम्य भएको थियो।  पुनमले रुमाल लिएर आँशु पुछि र आफूलाई केही सम्हालेर जान्छु है भनि। मैले पुनमको आँखामा हेर्ने हिम्मत समेत गरिनँ। मात्र घोप्टो मुन्टो लाएर बसे। उनी बाहिर निस्किन्। अझै उनका आँखा राता रहेछन्। रेस्टुरेन्टको झ्यालबाट उनी पर पुगुञ्जेल हेरिरहें।

साँझ कोठामा पुग्दासम्म पनि म उनको अनुहार सम्झिरहेको थिए। त्यो मौनता, अनि त्यसभित्रको पीडा। के भएको होला पूर्णिमाको जुन जस्ती पुनमलाई? अनेक कुरा मन मा खेलाएर बसें। खान मन पनि लागेन। बत्ति निभाए अनि सुत्न खोजे तर निद्रा पनि लागेन। अनेक कुरा सोच्दा सोच्दै निदाएछु।

भोलिपल्ट मैले सरी भन्न  पुनमलाई कल गरे। उनले मेरो कल रिसिव नै गरिनन्। मैले फेसबुक खोलेर हेर्दा उनले मलाई ब्लक गरिसकेकी थिइँ।

यो कुराले धेरै दिन सतायो। मैले आफैलाई दोषी ठान्न थाले।

करिब एक महिनापछि एक दिन सिरुसँग भेट भयो बस स्टपमा। म गाडी कुरिरहेको थिए। कोठा नजिक थियो तर पनि पानी परेकाले गाडीमै जाउँला सोचेको थिए। पानी परेकाले उनी पनि ओत लागेर गाडी पर्खिरहेकी  थिइन्। केही छिनको भलाकुसारी पछि सिरु र पुनम राम्रो साथी भएकोले मैले पुनमको हालखबर सोधि हाले। र उसले सबै कुरा बताइ। पुनमको कुनै आदेश भन्ने केटोसँग प्रेम सम्बन्ध रहेछ तर पछि बिहेको प्रस्ताव राख्दा आदेशले अस्वीकार गरेको रहेछ। अनेक कारण देखाएर उसले पुनमसँग ब्रेक अप पनि गरेछ। र यो सब घटना मैले पुनमलाई बोलाउनु भन्दा केही दिन अगाडि भएको रहेछ।

म भित्रभित्रै रुन थाले। सोचे त्यसै पीडामा भएकी पुनमलाई झन् पीडा थप्ने काम गरे। आफैलाई धिक्कारे अनि त्यो केटोलाई धिक्कारे। पूर्णिमा जस्ती उज्याली पुनम आज औंसी जस्तो अँध्यारो भा’की छे। र पनि म, जो उसलाई प्रेम गर्छु भन्थे झन् पीडा दिन पुगेछु। कसैले भत्काइसकेको विश्वासको बाँधलाई म बलुवा लिएर बनाउन हिडेको रहेछु। उनको प्रेमप्रतिको विश्वास कठ्याङग्रिएको होला। र त उनी केही बोलिनन्। उनको पीडामा म किन रोइरहेको थिए, किन आँशु भेल बनेर आँखाबाट झर्न खोज्दै थिए। केही थाहा भएन, बस दुखिरह्यो मन।

म टोलाएको देखेर सिरुले के भो भनेर सोधि। केही होइन भन्दै मैले टाउको हल्लाए, सम्हाले आफ्ना आँखाबाट आउन खोजेका आँसुहरूलाई। सिरुको गाडी आयो। ल है गए भन्दै उ गाडीभित्र गई। म अझै रोइ रहेको थिए। उसको गाडी हिँड्यो। म पनि हिँडे भिज्दै भिज्दै। सायद झरीले पीडा नपखाले पनि आँशु पखाल्थ्यो त्यसैले होला म गाडी चढिन। हिँडिरहे दोषको बादल टाउको माथि राखेर परेली भिजाउँदै।

(केहि समय पहिले सेतोपाटि मा दुइ भागमा प्रकाशित )

Advertisements

6 thoughts on “पूनम (१. होली, २. म दोषी )

  1. wow!

    such a lovely love-story!

    अनि त्यसपछि … ?

    Will b waitin to read next part?

    : )

    published re : ) wow!

    Congratulations!

    शुभ-सन्ध्या ।

  2. ha ha everyone is saying same thing, ‘next part’
    त्यतिकै एउटा कथा लेखे होलिमा, पब्लिस भो ! someone asked me for next part, again I wrote it, फेरि पब्लिस भो !
    now you are asking for next part
    🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s