लभ लेटर

उसले मेरा लागि लेखेको लेटर उसको इकोनोमिक्सको कापीभित्र खै कसले भेटेछ। बलजफ्ती उसलाई त्यो लेटर मलाई दिन लगाए।

उसको लभ लेटर पाउना साथ मेरो मुटुको गति ठाउँमा थिएन। मुख रातो–पीरो भएको थियो। साथीहरू कुनै विजय उत्सवझैं रमाउदै थिए। तर, म भने भित्रभित्र डराएको थिएँ। मैले यो कुरा अनिशलाई पनि भनेको थिएँ तर उसले उल्टै, ‘केटा मान्छे भएर पनि डराउने लजाउने हो,  हामीलाई कसैले दिएको भए त…’ भन्यो । मैले केही भन्न सकिनँ। त्यो दिनदेखि मेरो र उसको जोडी बनाइदिए क्लासमा साथीहरूले र ऊ सधैं मेरै बेन्चमा आएर बस्न थाली।

म सधैं चाँडो आएर अरु केटा साथीहरुसँगै बस्थेँ तर ऊ आउनासाथ जसले पनि उसको लागि भनेर मेरै छेऊमा सिट खाली गरिदिन्थे। मलाई ऊसँग बस्न साह्रै गाह्रो हुन्थ्यो। मेरा हरेक क्रियाकलापमा ऊ सम्मिलित हुन्थी। क्यान्टिन जाँदा होस्, लाइब्रेरी जाँदा होस् वा घर जाँदा, सँगैसँगै हुन्थी। मैले उसको लेटर पनि स्वीकारेको थिइनँ। तर, पनि कुनै कानुन र नियमले बाँधेजस्तो हामी सँगै हुन्थ्यौं। म कुनै कुरा भन्ने स्थतिमा पनि थिइनँ।  उसलाई धेरैचोटी भन्न त खोजेको हो तर मेरो कुनै कुराले उसलाई असर हुन्थेन। मलाई उसले कुनै युद्धमा जितेर ल्याएको जस्तो गर्थी।

पूर्णिमाले लभ लेटर दिएको दिन सबै खुसी थिए। सायद म मात्र खुसी थिइनँजस्तो लाग्थ्यो। तर, एक दिन अनिशले कोही अरु पनि यो कुराबाट खुसी नरहेको कुरा सुनायो। मनै दंग भयो त्यो कुरा सुनेर। मानौं वर्षौंको तपस्याबाट कुनै वरदान प्राप्त भएकोजस्तो लाग्यो। अनिश सँग सबिनले गुनासो गरेको रहेछ कि उसले पनि पूर्णिमालाई मन पराउँछ भनेर। अब मेरो दिमागमा सबिन नै मेरो सबै समस्याको सोलुसनजस्तो देखिन थाल्यो। मैले अनिशलाई सहायोग गर्न भने।उसले पनि मिल्ने साथी भएकाले ‘हुन्छ’ भन्यो।

पूर्णिमा सधैं स्कुल जाँदा बाटोमा भेटिन्थी। तर, म भने लुकेर, दौडेर भाग्थेँ। तर अनिश र मेरो कुरा भएको भोलिपल्टदेखि म पूर्णिमा भेट्नेबित्तिकै बोल्न थालेँ। ऊ मसँग बोल्दा सधैं रमाउँथी।सायद उसले मलाई भित्रैदेखि मन पराउँथी। म भने अब हरेक कुरामा सबिनलाई ल्याउँथें। उसले कुनै सब्जेक्टको कापी मागे भने म सबिनसँग छ भानिदिन्थें। मैले यसो गर्दा धेरैचोटी उसलाई निराश भएको देखेको थिएँ। ऊ मैले गर्ने हरेक कुरा चाख लिएर सुन्थी। मेरा हरेक सफलतामा खुसी हुन्थी। मेरो होमवर्क गरिदिनेदेखि मेरो नोट पनि बनाइदिन्थी।

कहिलेकाहीँ त उसले मलाई लभ लेटर दिएको हुनाले म ठिकै भयो ठान्थें। उसले मलाई सबै कुरामा सहायोग गर्थी। म भने कुनै कुराको सहायोग माग्नासाथ सबिनको नाम लिइहाल्थेँ। ऊ निराश भएर फर्किन्थी।

उसको लभ लेटरको चर्चा सरहरूमा पनि पुगेको थियो। हुन त सारा क्लासका अगाडि लभ लेटर दिएको कुरा सीमित हुने कुरै थिएन। सरहरू कहिलेकाहीँ मलाई जिस्काउनु पनि हुन्थ्यो। म ‘लभ लेटर’ पीडित नै भएको थिएँ। अझ ब्रेकमा क्यान्टिनमा केही खाने स्थिति नै थिएन। सधैं खाने बेला, उसले आफ्नो लागि र मेरा लागि सँगै ल्याएर आउँथी, घरबाटै दुर्इ जनाको लागि भनेर।कहिलेकाहीँ त दिनभरि सोचेर मात्र बस्थेँ। कहिले त स्कुल नै नजाउँजस्तो लाग्थ्यो। अनिशले नि केही गर्न सकेन। अनि सबिनलाई बीचमा ल्याएर केही हुन्छ कि भन्ठानेको थिएँ त्यो पनि हुनेजस्तो लागेन।

तर, विस्तारै–विस्तारै पूर्णिमाका केही कुरा मन पर्न थाले। वार्षिकोत्सवपछिको स्कुल पिकनिकमा ऊ खोलामा लडेकी थिई। त्यो बेला मेरो होसहवास हराएको थियो। तर, समयमै सरले देखेको हुनाले केही भएन। उसलाई होस् आएपछि, घर आउँदा हामी बसको एउटै सिटमा बसेका थियौं।ऊ त्यसै रुन थाली, मलाई साह्रै नरमाइलो लाग्यो।

‘म मरेको भए तिमीलाई जाति हुन्थ्यो है,  थाहा छ मलाई, तिमीले हरेक पटक सबिनको नाम मेरो अगाडि किन लिन्छौ भनेर। त्यति त बुझ्छु नि म पनि। सबिन राम्रो केटा होइन प्रशान्त। तिमीले सायद मबाट धेरै सास्ती भोग्यौ। सरी ल, मैले तिमीलाई लभ लेटर दिएकोमा, तिमीलाई धेरै सताएँ,  सरी प्रशान्त। अबदेखि तिमीलाई सताउँदिन है। त्यो लेटर पनि च्यातिदिनु, धुजाधुजापारिदिनु,’ उसले भनी।

‘ल सक्कियो सबै लभ सब,’ सायद उसको सासमा पनि उसका आँशु थिए।

त्यो दिन धेरै नरमाइलो लग्यो। उसले बोलेका हरेक बचन कुनै ज्ञानीले बोलेका जस्तै थिए। कति चेतना! कति ज्ञान!

घर पुगेपछि एक किसिमको आनन्दझैं लाग्यो। कुनै पिंजडाबाट फुत्केको चराजस्तै। झोला बिस्तरामा फ्यालें। लभ लेटर निकाले च्यात्न भनेर, तर खै के भयो, आफ्नो सेक्रेट डायरीमालुकाए। म भोलिको प्रतीक्षामा थिएँ। कतिबेला स्कुलको गेट पार गरुँला लागिरा’थ्यो।

भोलिपल्ट स्कुल पुग्नासाथ लभ लेटर च्यातेको हल्ला चारैतिर थियो। मेरो ओठको मुस्कानले सायद सबैले त्यो कुरा चाँडै पत्याएको पनि हुनुपर्छ। अनिशले आएर सोधिहाल्यो,  मैले सबै कुरा भनें। ल ठिकै भयो भन्यो उसले। अनि सबिनको त भुइँमै खुट्टा थिएन। उसको ग्याङका केटाहरूले, ‘ल यार तेरो बाटो खुल्ला भयो’ भन्दैथिए।

तर, पूर्णिमा भने थिइन त्यो दिन। उसलाई ज्वरो आएको थियो रे। सायद पिकनिकमा खोलाको चिसो लाग्यो होला। अझ त्यस्तो एक्सिडेन्ट भएको थियो।

एक हफ्तासम्म पूर्णिमा स्कुल आइनँ। उसलाई निमोनिया भएको थाहा पाएँ। सबै साथीहरू भेट्न गएका थिए। सबिन त् झन् फलफूल पनि लिएर गएको थियो। अनिश पनि भेटेर आएको थियो।उसले पनि पूर्णिमा अत्ति नै कमजोर भएको कुरा गर्यो। तर, औषधिले सन्चो भइरहेको पनि भन्यो अनिशले। म भने भेट्न गइनँ, भेट्न गए सक्किएको सम्बन्ध फेरि जोडिने हो कि सोचें। अनि सन्चो पनि त हुँदैथियो।

पिकनिकको घटना भएको दुई महिना बितिसकेको थियो। म पहिलाजस्तो थिएँ त्यस्तै भइसकेको थिएँ,  स्वतन्त्र र आजाद। कुनै माया प्रेम पनि थिइनँ, एकदम स्वतन्त्र। पूर्णिमा पनि मसँग बस्न छोडिसकेकी थिर्इ।  ऊ केटीहरूसँगै बस्थी। जे भो राम्रै भो सोच्दै थिएँ। तर, लभ लेटर दिनु पहिलासम्म कहिले पनि नजर नपुग्ने पूर्णिमामा भने सधैंजसो नजर जान थाल्यो। हिजोसम्म जसको मतलभ लाग्थेन, आज उसैका हरेक क्रियाकलापमा विचार गरिन्थ्यो।

मरो समस्याको समाधान भएको मेरो सोचाई त्योबेला गलत साबित भयो जब कक्षामा एक दिन एउटा घटना घट्यो। नेपालीको क्लास थियो। सरले ‘प्रेम’ शब्दमा वाक्य बनाउ भन्नुभयो। सबैले आ–आफ्नो वाक्य बनाए र एकछिनपछि सरले हेर्नुभो। ‘सबिन तिमी अगाडी आऊ त,’ सरले सविनलाई बोलाउनु भयो। अनि उसलाई उसले लेखेको वाक्य पढ्न भन्नुभो। ऊ हिच्किचायो पहिला त तर एकछिनमा उसले पढेर सुनायो। पूरै क्लास बेस्सरी हाँसोको फोहरा छुट्यो। लाग्थ्यो,भगवानले आज हाँस्नलाई अन्तिम दिन दिएका थिए। मेरो पारो तात्यो, गएर सबिनको गालामा पुस्तौं याद रहने चिनो छोडे।

सब चुप भए। पूर्णिमाको अनुहारको रंग उडेको थियो। उसका आँखा रुझेका थिए। मेरो यो हर्कतले रुझेका आँखा आँशुमै डुबे। सबिनले ‘म पूर्णिमा लाई प्रेम गर्छु’ भन्ने वाक्य बनाएको थियो। हिजोसम्म यही खोजिरहेको मलाई मेंसुराको अनुहारको कुन तत्वले हो असह्य बनायो।

सन्नाटा छाएको क्लासमा एकाएक कोलाहल मच्चियो। मैले र सबिनले मोटो बासको लट्ठीको पिटाई लट्ठी नटुटुन्जेल खायौं। सबैले पूर्णिमा, मेरो र सबिनको बारेमा कुरा गर्न थाले। पूर्णिमाको नजिक गएर म उसलाई सान्त्वना दिन खोज्दैथिएँ। ‘पूर्णिमा, सरी है,’ मैले भनें।

मैले केही भन्न भ्याएको नै थिइनँ, पूर्णिमाले मेरो गालामा जोढले झापड हानिन्। ‘प्रशान्त, जाऊ, पहिला कति ठाउँमा उल्झेका छौ, आफैंभित्र, सुल्झेर आऊ। पहिला आफ्नै मनसँग लड, अनि आफैंसंगको सम्बन्ध सुधार, अनि मेरो चिन्ता लिनु। मैले गल्ती गरें त्यो लेटर लेखेर। ठूलो गल्ती,’ ऊ बर्बराउँदै गई। आँशुका ढिक्का खसाल्दै।

हिजो उसको सामीप्य पनि तीतो लाग्ने मलाई आज उसको झापड पनि मीठो लाग्दै थियो। उसले जति झापड हाने पनि म सहन तयार थिएँ। तर, आज ऊ थिइनँ। हिजो ऊ हुँदा मभित्रको ‘म’ थिएन र आज जब मैले आफूलाई पाएको थिएँ, ऊ मसँग थिइनँ।


FIND IT AT: http://suvadin.com/news/love-letter

Advertisements

6 thoughts on “लभ लेटर

    1. dherai kuraa kalpanik, kehi kuraa satya 😋

      I don’t think it will have a next part
      still I have new part for poonam,
      right now it is in private mode 🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s