कथा: कथाकी पात्रलाई भेट्दा

‘प्रविनजी, प्रवेशले इन्सपेक्सनको लागि अहिले कोही नभएकाले नेपालबाट कसैलाई पठाइदिनू भन्दै छ ।  के गर्नुहुन्छ ? तपाईंले एक हप्ता युएस, टेक्सास टर्मिनल जानुपर्ने भयो’, बोसले अह्राउनुभयो ।

बोसको कुरामा नाइँ भन्ने कारणै थिएन । नाइँ भन्न मैले धेरै पहिले नै छोडिसकेको थिएँ ।

‘ओके सर, म जान्छु’, मैले टाउको हल्लाएँ ।

‘हुन्छ, त्यसो भए भोलि म तपाईंलाई डिटेल फरवार्ड गर्छु’, बोसले भन्नुभयो ।

भोलिपल्ट मैले सबै डिटेल पाएँ । निर्माण पूरा भएको नयाँ फ्युल टर्मिनलको अटोमेसन सिस्टम ठीक भए-नभएको मैले भेरिफिकेसन गर्नुपर्ने थियो । सधैं कम्प्युटरमा टेबल वर्क गरिरहेको मसँग यस्तो कामको धेरै अनुभव त थिएन । यसैले यो मेरो लागि हेर्ने र सिक्ने मौका थियो । आफूले कोरेका चित्रहरुको सजीव रुप देख्ने मौका थियो । मैले प्रवेश सरको गाइडेन्समा काम गर्नुपर्ने थियो ।

त्यसको दुई दिनपछिको मेरो फ्लाइट बुक भयो । पहिलो चोटि अमेरिका जाँदै थिए । विमानमा चढ्दा छुट्टै आनन्द भयो । करिब अठार घण्टापछि म आस्टिन पुगे । विभिन्न ट्रान्जिट पास गर्दै बल्लतल्ल पुगेको थिएँ । पूरै टाउको घुमेको थियो । प्रवेश सर एअरपोर्टमा आउनुभएको थियो ।

‘मिस्टर प्रविन, वेलकम !’ प्रवेश सरलाई मैले भिडियो कन्फरेन्सको बेला चिनेको थिएँ । उहाँ कम्पनीको हेडक्वाटरमा सिनियर प्रोजेक्ट इञ्जिनियरको रुपमा हुनुहुन्थ्यो ।

मलाई कम्पनीले बुक गरेको होटलमा राखियो । साँच्चै रमाइलो लाग्दै थियो । गगनचुम्बी घरहरुका बीच पनि कति सुन्दरता थियो । भोलिपल्ट साइट जानु थियो । त्यो दिन रेस्ट गरेर बसेँ ।

***

मैले साथीलाई भेट्ने निर्णय गर्दै सागरलाई कल गरेँ । ऊ होस्टनमा थियो । ऊ एउटा कम्पनीमा आईटी सम्बन्धी काम गर्थ्यो । मैले त्यसपछि होस्टनको फ्लाइट बुक गरे । त्यो दिनको एउटा लास्ट फ्लाइट थियो ।

एअरपोर्टमा पुग्दा सागर आइसकेको थियो । ट्याक्सी लिएर उसको अपार्टमेन्टमा गयौं । उसले त्यसै दिन एउटा म्युजिकल कन्सर्टको टिकट किनेको रहेछ । मलाई पनि जान कर गर्‍यो । लोकल ब्यान्डको कन्सर्ट थियो त्यो । मैले नाइँ भन्न धेरै पहिले नै छोडिसकेको थिएँ ।

साँझको करिब सात बजे हामी एरेना थिएटर पुग्यौं । सागरका अरु साथीहरु पनि थिए । कन्सर्ट सुरु भयो । सारै रमाइलो हुँदै थियो । सबै नाचिरहेका थिए । भिडमा कसैले पछाडिबाट बोलायो |

‘प्रविन !’, कुनै केटीको आवाज थियो ।

यो शहरमा यत्रो भिडमा मलाई नै कसले बोलायो होला भनेर एकछिन त मतलब गरिनँ । तर, फेरि आवाज आयो । मैले पछाडि फर्केर हेर्दा चिनेको जस्तो अनुहार लाग्यो, तर ठम्याउन सकिनँ ।

‘नेपालबाट ? हजुर मलाई चिन्नुहुन्छ ?’, कोलाहल छल्दै  म उसको कानैनेर मुख लगेर चिच्याएँ ।

‘अँ, नचिनी कसरी बोलाएँ त हजुरको नामले’, ऊ पनि हाँस्दै चिच्याई ।

‘हा हा, हो है त्यो त’, म अवाक् परेँ ।

उसले मेरो हात समातेर अलि टाढा लगी ।  मैले सागरलाई रुममै भेट्छु भनेँ ।

हामी कन्सर्टभन्दा बाहिर आएपछि, ऊ फेरि चिच्याई, ‘तपाईं कथा लेख्नुहुन्छ नि ? आई एम योर फ्यान । तपाईंले डेली लेख्ने ब्लग पनि सधैं पढ्छु ।’

‘अब त नचिच्याउँदा’नि सुनिन्छ होला’, म हाँसे । उसले मुख खुच्याई ।

मैले फेरि भनेँ, ‘धन्यवाद, खुसी लाग्यो, दुनियाँको कुनै अञ्जान कुनामा कसैले मेरा खेस्रा कथा-कविताहरु पनि पढ्छ भनेको सुनेर ।’

‘होइन, सबै त होइन, केही चाहिँ मलाई मन पर्छन् । राम्रो लेख्नुहुन्छ’, उसले फेरि भनी ।

‘तपाईंको नाम ?’ मैले उसलाई सोधेँ ।

‘पछि भनूँला’, उसले टारी ।

हामी हिँड्दै अगाडि बढ्यौं ।

‘तपाईंले लेख्नुभएको एउटा कथाको बारेमा तपाईंलाई सोध्न सक्छु ?’ उसले मलाई प्रश्न गरी ।

‘भन्नुस् न,सोध्नुस् ।’

‘तपाईंले एउटा कथा इङ्लिसमा लेख्नुभएको छ है, पुमा, लभ स्टोरी टाइपको ? त्यसको पात्रलाई तपाईंले किन दयनीय बनाउनुभयो ? तपाईंले कुनै पात्र बनाउँदा त्यो कुनै जीवित मानिस पनि हुन सक्छ, त्यो कुराको विचार गर्नुभा’छ ?’

उसका कुरा सुनेर म एकछिन अक्मकिएँ । एक्कासी यसले किन यस्तो भन्न थाली भनेर कन्फ्युज भएँ । मैले जम्मा एउटा मात्र कथा अंग्रेजीमा लेखेको थिएँ ।

‘त्यो कथाको सिच्वेसन त्यस्तै थियो । एउटा फिक्सन त हो | के फरक पर्छ !’ मैले कुरा टार्ने कोसिस गरेँ ।

‘साँच्चै भन्नुस् त, त्यो फिक्सन मात्र हो भनेर । फिक्सन जस्तो कत्ति पनि फिल भएन त !  त्यो त सत्य घटना जस्तो लाग्छ । तर, के कथा अनुसार तपाईंकी पात्र ‘पुमा’ लाई अनिशले नै छाडेको हो त ? मुख्य कुरा त के त्यो एउटा प्रेम नै थियो र ?’

उसले सिरियस जस्तै भएर सोधी । त्यो कथामा एउटा रिलेसनमा बसेको कपलको ब्रेकअप देखाइएको थियो ।

मलाई डर लाग्न थाल्यो । कत्ति कुरा लेखिन्छ, कत्ति कुरा कल्पना गरिन्छ, कति कथाहरु रचिन्छ । तर, त्यो कथा, कथामा मात्र सकिँदैन भनेर कहिले पनि सोचिन्न । सायद यस्तै कति कथाले अरु कति कथा जन्माउँछन् होला ।

उसले मलाई फेरि भन्न थाली, ‘सायद पुमाले अनिशलाई छोडी कि, त्यसो किन लेख्नु भएन ? वा पुमा जस्ती एक सशक्त नारीले भविष्य बनाउन केवल शरीरमा सीमित रहेको अनिशको प्रेम अस्वीकार गरी कि ?  नारीले सधैं दयनीय नै बन्नुपर्ने ?’

मलाई उसले भनेका कुरा’नि ठीकै हो जस्तो लाग्यो । तर, कथा पछाडि केही रहस्य मेरा पनि थिए । कसरी सम्झाऊँ जस्तो लाग्न थाल्यो ।

‘तपाईं के गर्नुहुन्छ नि यहाँ ?’ मैले पूरै नयाँ अध्याय सुरु गर्ने कोसिस गरेँ ।

‘लौ, के हो यस्तो ? बीचमै कुरा फेर्न खोज्नुहुन्छ त !’, ऊ खिस्स हाँसी । फेरि बोली, ‘पिरामिड इन्कमा बिजनेस एडभाइजर ।’

‘तर सारै रुखो हुनुहुँदोरहेछ । कुरा बीचमै रोक्नुभो’, उसले निराश भाव प्रकट गरी |

‘होइन, त्यो कथाका केही कुरा सत्यतासँग जोडिएका थिए, त्यही भएर त्यस्तो भयो । अब लेख्ने बेला के-के सोचिन्छ, पछि त्यसो किन गरे भनेर रिकल नै गर्न सकिँदैन’,  मैले उसलाई सम्झाउने कोसिस गरेँ ।

‘बाई द वे, कसको कथा हो त्यो ?’, उसले सोधी ।

‘मेरो साथीको ।’

‘आफ्नो कथा लेखिएको उसलाई थाहा छ त ?’

‘सायद ।’

‘सोधेर लेख्नुभो ?’, उसले फेरी सोधी ।

‘किन सोध्नु ? लेखक हुँ, घुमाएर जे पनि लेख्ने सक्छु । सोध्नु आवश्यक छ र ? फेरि सबै पात्र काल्पनिक हुन् | सिच्वेसन पनि काल्पनिक छन् | किन सोध्नुपर्‍यो ?’, मैले कथा लेख्नुको झमेला भोग्दै थिएँ ।

‘त्यो त हो, तर पनि के त्यो गलत छ भन्ने कहिल्यै लागेन ? के थाहा, तपाईंको पात्र तपाईंले लेखेभन्दा भिन्न छ कि ?’ उसले प्रश्नको वर्षाद् गर्न थाली ।

‘तपाईं नै भनिदिनुस् के लेख्नु भनेर ?’, म इरिटेट भइसकेको थिएँ ।

‘भो, राम्रो लेख्नुहुन्छ । यस्तै लेख्दै गर्नुस् । अब कति दिन छ बाँकी यता ?’, उसले फेरि सोधी ।

‘पर्सिको फ्लाइट छ नेपालको । साँच्चै भन्नुपर्दा, थ्याङ्क यू भेरी मच । सायद मेरो कथा कसैको लागि नराम्रो हुन सक्छ भनेर सोच्नसम्म’नि सकिनँ । थ्याङ्क यू अगेन । ‘, उसले साँच्चिकै मभित्र प्रश्नको बीउ रोपिसकेकी थिई । कसका लागि र किन ? मेरो कथाको औचित्य के त ?

हामी नजिकैको कफीसपमा गयौं । लुबिज क्याफ्टेरिया । एकदम सुन्दर दृश्य थियो । जताततै उज्यालो । हामीले कफी पियौं अनि आ-आफ्नो बाटो लाग्यौं ।

***

अपार्टमेन्ट पुगेपछि मैले उसलाई सम्झिन खोजेँ । मैले कतै पहिले नै भेटेको जस्तो लाग्थ्यो अनि कथा सम्झेँ । मेरो कथा मैले फलो गर्ने कसैको ब्लगका स-साना अपडेटमा आधारित थियो । कथा अझै अपूर्ण भएको भान भयो । कोठामा म एक्लै अनेक गन्थन-मन्थन गर्दै थिएँ । सागर आइपुग्यो ।

‘किन चाँडो आएको ? अनि हु वाज दि गर्ल ?’, उसले मलाई जिस्क्याउन थाल्यो । ‘कोही होइन, मेरो एक फ्यान’, मेरो उत्तर सुनेर सागर हाँस्यो ।

‘भो यार, भोलि नै अफिस पुगेर सबै रिपोर्ट सब्मिट गरेर पर्सि जाने तयारी गर्नु छ, सुतौं अब ।’

सागरले मेरो सुत्ने व्यवस्था मिलायो |

भोलिपल्ट म फेरि आस्टिन फर्किएँ | अफिसमा प्रवेश सरलाई रिपोर्ट सब्मिट गरेँ ।

काम राम्रो भएको रहेछ । प्रवेश सरले मलाई एअरपोर्टसम्म छोड्नुभो ।

नेपाल पुगेको केही दिनपछि ब्लग खोलेर हेरेँ । नयाँ नोटिफिकेसन देखेँ, उही कथामा एउटा कमेन्ट आएको रहेछ, ‘इट्स पुम, नट पुमा, अनि यो सर्टफर्म हो, कुनै नाम होईन । किप राइटिङ ।’

सायद मैले मेरै पात्रलाई भेटेको थिएँ, तर पनि चिन्न सकिनँ । मेरा ओठ आफैंलाई गिज्याउन व्यस्त भए, मुस्कान सहित।


प्रकाशित : http://www.onlinekhabar.com/2017/04/573214/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s